सम्पादक बजगाईलाई विशेष सम्मान, साप्ताहिकलाई उत्कृष्ट रचना अवार्ड

काभ्रे / पत्रकारिता, साहित्य, कला र समाजसेवामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका वरिष्ठ पत्रकार तथा सम्पादक नवराज बजगाईलाई विशेष सम्मान प्रदान गरिएको छ। शनिबार नेपाल पुलिस क्लब, काठमाडौंमा सम्पन्न ग्लोबल स्टार अवार्ड–२०२५ तथा ‘मिसेस ब्युटिफुल नेपाल’ को नवौं र ‘मिस ब्युटिफुल नेपाल’ को दशौं संस्करणको भव्य ग्राण्ड फिनालेका अवसरमा आयोजित विशेष समारोहमा बजगाईलाई सम्मान गरिएको हो। 

दुई दशकभन्दा बढी समयदेखि सक्रिय पत्रकारितामार्फत समाजमा चेतना, शुद्ध दृष्टिकोण र सकारात्मक परिवर्तन ल्याउने अभियानमा समर्पित बजगाईको योगदानलाई उच्च मूल्याङ्कन गर्दै उनलाई “विशेष सम्मान” प्रदान गरिएको आयोजक संस्था दक्ष इन्टरनेशनलका प्रमुख एवं कार्यक्रम संयोजक टेकराज पाण्डेले जानकारी दिए।

सोही अवसरमा पत्रकार बजगाईले शब्द रचना गरेका ‘नव क्षितिज साप्ताहिक’ मा प्रकाशित ‘रजत गीत: सुशासनका लागि’ लाई ‘ग्लोबल स्टार अवार्ड–२०२५’ अन्तर्गत उत्कृष्ट शब्द रचनाको अवार्ड पनि प्रदान गरिएको थियो।

कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, कलाकार रमेश उप्रेती, मोहन निरौला, रमेश बुढाथोकी, सांसद विष्णु कुमारी सापकोटा, पूर्वमन्त्री दिपेन्द्र श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

बजगाईको बहुआयामिक परिचय

पत्रकारिता मात्र नभई साहित्य, कला र समाजसेवामा समेत समर्पित रहेर कार्य गरिरहेका बजगाई हाल प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य, प्रेस चौतारी काभ्रे इन्चार्ज ,  पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष, ‘नव क्षितिज साप्ताहिक’ र ‘राम्रो सन्देश डट कम’ का प्रमुख सम्पादक तथा सञ्चालक हुन्।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–४ (साविक नयागाउँ गा.वि.स.–७) निवासी बजगाई विगतमा पनि थुप्रै संघ–संस्थाबाट पत्रकारिता र समाजसेवामा पुर्‍याएको योगदानको कदर स्वरूप सम्मानित भइसकेका छन्।

सम्मानपत्रमा उल्लेख गरिएअनुसार, “मोफसलमा बसेर पनि कलम र आवाजमार्फत समाज रुपान्तरणको अभियानमा तपाईले खेलेको भूमिका अनुकरणीय र प्रेरणादायी छ। रंग पत्रकारितामार्फत कला क्षेत्रमा पुर्‍याएको योगदान र सामाजिक सेवामा तपाईको समर्पण उल्लेखनीय छ। यही आधारमा तपाईलाई यो सम्मान अर्पण गरिन्छ।”

समाजप्रतिको दृढ प्रतिबद्धता, पेशागत इमानदारी र सशक्त लेखनीको धनी बजगाईको यो सम्मानले मोफसल पत्रकारिताको महत्त्व झनै उजागर गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ