युवा फर्किए गाउँतिर, उमेश दाहालले देखाए आधुनिक कृषिमा भविष्य

उमेशको अनुभवले देखाउँछ—विदेशमा भन्दा आफ्नै माटोमा मेहनत गर्दा पनि भविष्य सुरक्षित बनाउन सकिन्छ ।
नेपाल कृषि प्रधान देश हो । हाम्रो रोजगारी, आम्दानी र खाद्य सुरक्षा धेरै हदसम्म कृषि क्षेत्रमा निर्भर छ । कुल जनसंख्याको करिब ६२ प्रतिशत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेशामा संलग्न छ । तर विडम्बना यो छ कि परम्परागत खेती अझै धेरै क्षेत्रमा प्रचलित छ । वर्षामा भर पर्ने खेती, पुराना उपकरण र सीमित बजार पहुँचले कृषकलाई आफ्नो श्रमको उचित मूल्य पाउनबाट वञ्चित बनाइरहेको छ ।
उमेश दाहालको जीवन यात्रा धेरै युवाहरूको कथा जस्तै लाग्छ । उनी १८ वर्षको उमेरमै रोजगारी र भविष्यको सम्भावना खोज्दै विदेशिन बाध्य भए । झण्डै ३ वर्ष वैदेशिक भूमिमा पसिना बगाएपछि पनि उनले आफ्नो भविष्य त्यहाँ सुरक्षित देखेनन् । बरु, आफ्नो जन्मभूमिमै केही गर्न सकिन्छ भन्ने दृढ विश्वास लिएर फर्किन उनले निर्णय गरे ।
देश फर्किएपछि उनले कृषि र पशुपालनलाई जीवनको बाटो बनाए । सुरुमा चुनौती भए पनि उनले निरन्तर मेहनत र लगनशीलता देखाए । अहिले उनी विभिन्न मौसमी तरकारी उत्पादन गर्दै आएका छन् । साथै, पशुपालनलाई स्थायित्व दिँदै दैनिक करिब ४० लिटर दूध उत्पादन गर्दै आफ्नो परिवार र समाजमा आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरिरहेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका यसको स्पष्ट उदाहरण हो । यहाँ करिब १४,९५९ जनसंख्या बसोबास गर्छन् र ४,२०० परिवार प्रत्यक्ष रूपमा कृषि पेशामा संलग्न छन् । गाउँपालिकाले विगत दशकमा कृषि विकासका लागि योजनाहरुको कार्यनयन गदै आएको छ । ट्र्याक्टर, पावर टिलर र आधुनिक सिँचाइ प्रणाली जस्ता उपकरणको प्रयोग बढाइ, जैविक मल र रोग प्रतिरोधी बीउको वितरणले उत्पादनमा केही सुधार ल्याएको छ । तर कृषकहरूको अनुभव भन्छ—“हामीले सोचेको जति लाभ अझै पाएको छैन ।”
कृषकहरूले आधुनिक प्रविधि अपनाए पनि बजार अस्थिरता, मौसमको अनिश्चितता र लगानीको उच्च लागतले अपेक्षित आर्थिक लाभ कम गर्न बाधक बनेको छ ।
यस्तै, युवा पुस्ता पनि कृषि पेशामा आकर्षित हुन हिचकिचाउँछन् । किसान पेशालाई कठिन, मेहनतपूर्ण र कम आम्दानी हुने पेशा ठानेर नयाँ पुस्ता वैदेशिक रोजगारी वा शहरी रोजगारतर्फ आकर्षित हुन्छ । यसले अनुभव र ज्ञान बोक्ने वृद्ध कृषकमात्र बाँचेका छन् र खेत बारि बाजो भएका छन् ।
बेथानचोक गाउँपालिकाले कृषकलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ । सुन्तला खेती तालिम, दुग्ध उत्पादन प्रवद्र्धन, जैविक कृषि तालिम र ब्याज अनुदान जस्ता पहलहरूले कृषकको क्षमता बढाउन सहयोग गरेका छन् । यसैगरी २४ कृषि फर्मलाई व्यावसायिक कर्जा उपलब्ध गराइएको छ, जसले उद्यमशीलता बढाउन मद्दत पुर्याएको छ । तर कृषकको अनुभव देखाउँछ कि योजना र वास्तविक लाभमा अझै दूरी छ ।
देशको स्तरमा हेर्दा, कृषि क्षेत्रमा सुधार भएको छ । २०२५ को पहिलो आधा वर्षमा कृषि क्षेत्रको वृद्धि दर ३.३५ प्रतिशत पुगेको छ र वास्तविक न्म्ए वृद्धि ४.९ प्रतिशतमा पुगेको छ । यद्यपि, अझै पनि आधुनिक प्रविधि, सिंचाइ, माटो संरक्षण र बजार पहुँचमा सुधार आवश्यक छ । डिजिटल बजार, स्मार्ट कृषि र सूचना प्रविधिको उपयोगले मात्र कृषकलाई सशक्त बनाउन सकिन्छ ।
अब बेथानचोक र नेपालभरिका कृषकका लागि आवश्यक छ कि कृषिलाई केवल जीविकोपार्जनको साधनबाट निकालेर व्यवसायिक र दिगो उद्यमको रूपमा विकास गरियोस् । सरकार, स्थानीय सरकार, सहकारी संस्था र कृषकको सक्रिय सहभागिताले मात्र उत्पादन, आय र जीवनस्तर सुधार गर्न सकिन्छ । आधुनिक यान्त्रिक उपकरण, सिंचाइ सुधार, जैविक खेती र डिजिटल बजार पहुँच मुख्य प्राथमिकता हुनुपर्छ । साथै युवा पुस्तालाई कृषिमा आकर्षित गर्न किसान पेशालाई गौरवपूर्ण पेशा बनाउनु आवश्यक छ ।
बेथानचोकको अनुभव स्पष्ट देखाउँछ कि सही तालिम, प्रविधि र दिगो अभ्यासको संयोजनले मात्र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिन्छ । यदि यस्ता अभ्यास देशभर लागू गरियो भने नेपाल खाद्य आत्मनिर्भर मात्र नभई निर्यातमुखी अर्थतन्त्रतर्फ पनि अग्रसर हुन सक्छ ।
समृद्ध नेपाल र सुखी नेपालीको आधार आधुनिक, व्यवसायिक र दिगो कृषि नै हो । अब ढिला गर्ने समय छैन ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ