काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले नेपाल टेलिकमको संवेदनशील प्रणाली चिनियाँ कम्पनी हुवावेलाई दिने तयारीबारे गम्भीर आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएका सिंहले केही दिनअघि आफूले बजेट विनियोजन शीर्षकमा “केही जिल्लाहरू लिजमा दिउँ” भनेपछि एमाले सांसदहरूले राष्ट्रघाती अभिव्यक्ति भन्दै कार्यवाही गर्नुपर्ने माग गरे पनि अहिले टेलिकमको सम्पूर्ण प्रणाली हुवावेलाई दिन लागिएको विषयमा उनीहरू मौन रहेको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, “कुनै पनि टेलिकम अपरेटरले आफ्नो कोर सिस्टम र बिलिङ सिस्टम एउटै सेवा प्रदायकलाई दिएपछि त्यो कम्पनी नै सर्वेसर्वा हुन्छ र उसले गरेका कामको निगरानी गर्न असम्भव हुन्छ। अन्तर्राष्ट्रिय मान्यताअनुसार यस्ता संवेदनशील सेवा पूर्ण रूपमा एउटै कम्पनीलाई दिने प्रचलन छैन। यसले राष्ट्रलाई अप्ठ्यारो परेको बेला ठूलो धोका दिन सक्छ।”
सिंहले एमालेसँगै कांग्रेसको नेतृत्वलाई समेत प्रश्न उठाएका छन्। “सभापति स्वयं त्यस्तै प्रकरणको लागि पार्टी नेतृत्व गरिरहेका छन्। महामन्त्री समेत चुप रहेको र कांग्रेस–एमाले मिलेर देशका सम्पत्ति सखाप पार्ने उदेश्यका साथ अघि बढिरहेका छन्,” भन्दै उनले आक्रोश पोखेका छन्।
सांसद सिंहले नेपाल टेलिकम राष्ट्रकै महत्वपूर्ण सम्पत्ति भएको भन्दै यसलाई विदेशी कम्पनीको पूर्ण नियन्त्रणमा दिनु राष्ट्रहितविपरीत हुने चेतावनी दिएका छन्।










