काठमाडौँ । सत्तारूढ नेकपा एमालेले विधान अधिवेशनको तयारीका लागि सचिवालय बैठक बोलाएको छ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि २२ गतेसम्म हुने विधान अधिवेशनको तयारीसम्बन्धी एजेन्डामा छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो। बैठक भदौ १९ गते दिउँसो ३ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुनेछ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।
यसअघि बोलाइएको तर स्थगित गरिएको केन्द्रीय कमिटी बैठक भने अब नबोलाइने भएको छ।










