हरिसिद्धिमा गाडी ठक्करबाट घाइते बालिकाको उपचार खर्च एमालेले बेहोर्ने

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरिसिद्धिमा गाडी ठक्करबाट घाइते भएकी बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने घोषणा गरेका छन्।

शनिबार बिहान ललितपुरको गोदावरीस्थित विधान महाधिवेशन स्थलतर्फ गइरहेका कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर सवार गाडीले हरिसिद्धि मावि अगाडि जेब्राक्रसिङमा बालिकालाई ठक्कर दिएको थियो। सोही कारण महाधिवेशनको दोस्रो दिनको कार्यक्रम करिब एक घण्टा ढिलो सुरु भएको थियो।

बालिकालाई तुरुन्त अस्पताल पठाइएको र सम्पूर्ण खर्च एमालेले बेहोर्ने जानकारी दिँदै अध्यक्ष ओलीले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरे। “दुर्घटना भवितव्य थियो, कुनै नियत थिएन। पार्टी बालिकाको उपचारमा पूर्ण रूपमा संलग्न हुन्छ,” ओलीले भने।

यसैबीच, गोदावरीस्थित सनराइज सभाहलमा एमाले विधान महाधिवेशन जारी छ। शुक्रबार अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको सङ्गठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद् संयोजक अमृत बोहराले प्रतिवेदन पेस गरेका थिए। शनिबार निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पेस हुने क्रम जारी छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ