काभ्रे । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट वाइसीएल (YCL) रअनेरास्ववियू (क्रान्तिकारी) काभ्रेमा असोज ३ गते १०औं संविधान दिवस बनेपामा दिप प्रज्वलनसहित भव्य रूपमा मनाउने भएका छन्।
संविधान दिवसलाई ऐतिहासिक उपलब्धिका रूपमा मात्र नभई वर्तमान जेन्जी आन्दोलन र सहिदहरूको बलिदानसँग जोडेर मनाइने नेकपा (माओवादी केन्द्र) काभ्रे जिल्ला पार्टी संयोजक भोला अर्यालले बताए।
सयोजक अर्यालले भने, जनयुद्ध, १९ दिने जनआन्दोलन र अहिले भइरहेको जेन्जी आन्दोलनको मर्मलाई सम्बोधन गर्दै नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त संविधानको रक्षा र विकास गर्दै अगाडि बढ्नु सबैको दायित्व भएको बताए।
“संविधान दिवस विशेष छ, किनभने संविधान पाएको दशक पुग्दा पनि समस्याहरू अझै बाँकी छन्। संविधान संशोधनमार्फत अझ उन्नत गणतन्त्रको स्थापना गर्नुपर्छ। हालै सम्पन्न जेन्जी आन्दोलनका सहिदहरूको सम्झनामा दिप प्रज्वलन गर्न लागिएको हो, जसले फेरि देशले स्थायी सरकार, भ्रष्टाचारविहीन शासन र विकास खोजिरहेको आर्यलले बताए।
यसैगरी, अनेरास्ववियू (क्रान्तिकारी) काभ्रेका अध्यक्ष विवस लामाले संविधान दिवसलाई सहिदहरूको सपना पूरा गर्ने अवसरका रूपमा लिँदै भने, “देश अब केवल वर्तमान संसदीय व्यवस्थामा अडिन सक्दैन। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मोडेल, विज्ञबाट मन्त्रिपरिषद् निर्माण र महँगो निर्वाचन प्रणालीको अन्त्य अपरिहार्य छ। यही संविधानमा टेकेर संशोधनमार्फत सहिदहरूको सपना पूरा गर्न सक्नुपर्छ। अर्को संविधान दिवस हामीले सहिदको सपना पूरा हुँदै गएको अवस्थामा मनाउन पाउनु नै हाम्रो प्रतिज्ञा हो।”
त्यस्तै, वाइसीएल जिल्ला संयोजक लनम तामाङले भने,
“यो संविधान हजारौँ सहिदहरूको रगतबाट निर्मित संविधान हो। माओवादीले गरेको १० वर्षे महान जनयुद्धको उपलब्धि नै यो संविधान हो, र यसको रक्षा पनि हामीले नै गर्नुपर्छ। देश विषम परिस्थितिमा हुँदा माओवादी सधैँ रक्षात्मक रहँदै आएको छ। जेन्जी आन्दोलनले अहिले उठाइरहेका मागहरू — कार्यकारी प्रमुख, भ्रष्टाचारविरुद्धको मुद्दा वा सुशासनको सवाल — यी सबै कुरा हामीले शान्ति सम्झौताको बेला नै उठाएका मुद्दाहरू हुन्। अब युवा पुस्ताले नै अग्रसरता लिनु जरुरी छ। संविधान दिवस हामी युवा विद्यार्थीले बर्सेनि दिप प्रज्वलन गरेर मनाउँदै आएका छौँ। यो संविधानले हरेक पिछडिएको वर्ग, जातीय र लैंगिक विभेद तथा बालश्रमलाई अन्त्य गर्ने ऐतिहासिक कदम चालेको छ। त्यसैले हामी यसलाई पर्वको रूपमा सधैँ मनाउँदै आएका छौँ र भविष्यमा पनि निरन्तर मनाउने छौँ।”
नेपालले असोज ३, २०७२ मा संविधानसभा–२ बाट वर्तमान संविधान जारी गरेको थियो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई जनताको लामो संघर्ष, त्याग र बलिदानको परिणामस्वरूप प्राप्त ऐतिहासिक उपलब्धि मानिन्छ। यद्यपि संविधान जारी भएको दशक पुग्दा पनि संविधान संशोधन, सहमति र कार्यान्वयनसम्बन्धी विभिन्न चुनौतीहरू अझै कायम रहेका छन्।
आयोजकका अनुसार बनेपा चारदोबाटोमा असोज ३ गते साँझ ५ बजे संविधान दिवसको अवसरमा विशेष दिप प्रज्वलन गरिनेछ।










