काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा आफूलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन माग गरेका छन् । माओवादीको पदाधिकारी बैठक गत आइतबार बसेको थियो । उक्त बैठकमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्ष माग गरेको उपमहासचिव जनार्दन शर्माले जानकारी दिएका हुन् ।
‘मंसिरमा महाधिवेशन नै गर्ने हो भने करिब दुई महिना हुन्छ । दुई महिनालाई वरिष्ठ नेता नारायणकाजीले पनि मलाई कार्यबाहक दिनुपर्यो भनेर माग गर्नुभएको थियो हिजो (आइतबार) मिटिङमा । माग गरेपछि मैले भनेँ दिइदिनुस् न त उहाँलाई कार्यबाहक, दुई महिना त हो, दुई महिना कार्यवाहक दिएर केही बिग्रँदैन, दिनुहोस्,’ उपमहासचिव शर्माले पदाधिकारी बैठकमा भएको छलफल सुनाए । उक्त आग्रह शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गरेका हुन् ।










