काठमाडौँ। गृहमन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्न सहयोग गर्न सबैसँग आग्रह गरेको छ। आज जारी विज्ञप्तिमा मन्त्रालयले आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको भन्दै सभा, सम्मेलन, बैठक वा विरोध कार्यक्रम शान्तिपूर्ण र अहिंसात्मक ढङ्गमा गर्न अनुरोध गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “गत भदौ २३ र २४ गते जेनजी युवाको नेतृत्वमा भएको आन्दोलनपछि नयाँ सरकार गठन भई आमनिर्वाचनको प्रारम्भिक कार्य अघि बढेको छ। यस अवस्थामा हुने सभा, सम्मेलन, बैठक तथा विरोधका कार्यक्रमहरू अन्यलाई असर नपर्ने, उक्साहट नहुने र शान्तिपूर्ण ढङ्गमा सञ्चालन भई समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्न सहयोग पुगोस् भन्ने गृहमन्त्रालयको अपेक्षा छ।”










