काभ्रेपलाञ्चोक। वि.सं. २०८१ असोजको विपत्तिमा आवास गुमाएका काभ्रेपलाञ्चोकका पीडितलाई अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताबापतको रकम वितरण गरेको छ। जिल्लाका १३ स्थानीय तहका तीन हजार १२८ परिवारलाई रु ७ करोड ७९ लाख २५ हजार उपलब्ध गराइएको हो।
सरकारले प्रतिघरपरिवार पहिलो किस्तामा रु २५ हजार र दोस्रो किस्तामा थप रु २५ हजार गरी कुल रु ५० हजार दिने कार्यविधि तयार पारेको थियो। तर, हालसम्म अधिकांश स्थानीय तहले दोस्रो किस्ताको माग नगरेका कारण करिब रु ४ करोड थन्किएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए। अहिलेसम्म बेथानचोक र रोशी गाउँपालिकाले मात्रै दोस्रो किस्ता लिएर वितरण गरेका छन्। बेथानचोकका १९६ र रोशीका ४६१ घरपरिवारलाई कुल रु १ करोड ६४ लाख २५ हजार वितरण भएको छ।
पहिलो किस्ताबापत धुलिखेल नगरका ९०, बनेपाका ४१, पनौतीका ६३४, पाँचखालका ८८, मण्डनदेउपुरका १३३, नमोबुद्धका ८८४, चौँरीदेउरालीका २८०, खानीखोलाका ५३, रोशीका ५४८, भुम्लुका ४०, तेमालका १४१ र बेथानचोकका २३९ परिवारलाई अनुदान उपलब्ध भएको छ।
यसैबीच, असोज दोस्रो साताको अविरल वर्षापछि आएको बाढीपहिरोले क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आकलन (डिडिए) सुस्त गतिमा भइरहेको छ। करिब छ महिना बित्दा पनि रोशी गाउँपालिकाबाहेक अन्य प्रभावित क्षेत्रको आकलन सकिएको छैन। घटनाको एक वर्ष वितिसक्दा पनि पूर्ण विवरण नआएकाले स्थायी आवास पुनर्निर्माण कार्य अघि बढ्न नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सरकारले स्थायी घर निर्माणका लागि अनुदान उपलब्ध गराउन १८ प्राविधिक खटाएको भए पनि नमोबुद्ध, पनौती, बेथानचोक, तेमाल, भुम्लु, खानीखोला, महाभारतलगायत प्रभावित स्थानीय तहमा विस्तृत आकलन अपूर्ण छ।
उक्त बाढीपहिरोमा काभ्रेपलाञ्चोकका ८१ जनाको मृत्यु भएको थियो भने ६ जना अझै बेपत्ता छन्। करिब १०० जना घाइते भएका थिए।










