गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनले उठाएका मागहरू सम्बोधन गर्न पार्टी दृढ रहेको बताएका छन्।
गोरखा सदरमुकाममा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उनले भने, “जेनजी आन्दोलनले उठाएका विषयहरू हामीले संविधानसभा निर्वाचनदेखि नै अघि सारेका हौँ। अब ती मुद्दा कार्यान्वयनमा ल्याउन हाम्रो मुख्य ध्यान रहनेछ।”
अन्तरिम सरकारबारे कुरा गर्दै प्रचण्डले भने, “केपी ओलीको सिफारिसमा बनेको अन्तरिम सरकारलाई हामीले समर्थन जनाएका थियौँ, तर हाम्रो धारणा संसदबाट अनुमोदन र संविधान संशोधनपछि मात्र संसद् विघटन हुनुपर्छ भन्ने थियो।”
उनले जेनजी आन्दोलनलाई परिवर्तनको निरन्तरता बताउँदै भने, “जेनजी आन्दोलन हाम्रो उत्तराधिकारी आन्दोलन हो। हामी भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहेका थियौँ, र नयाँ पुस्ताले पनि यही मार्ग अघि बढाइरहेको छ।”










