काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणको क्रममा नयाँ दिल्ली पुगेका छन्।
राष्ट्रपति पुटिन हिजो साँझ पालम विमानस्थलमा अवतरण गर्नुभएको हो, जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँको स्वागत गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ।
पुटिनको यो भ्रमण भारत र अमेरिकाबीचको तनावपूर्ण सम्बन्धको समयमा भइरहेको छ। आज, प्रधानमन्त्री मोदीले हैदरावाद हाउसमा पुटिन र उहाँको प्रतिनिधिमण्डलका लागि दिवाभोजको आयोजना गर्नुभएको छ। भ्रमणको क्रममा द्विपक्षीय रणनीतिक र आर्थिक साझेदारीलाई विस्तार गर्न, रक्षा सहयोग बढाउन, र बाह्य दबाबबाट द्विपक्षीय व्यापारलाई जोगाउनका लागि छलफल हुने बताइएको छ।
रूसी राष्ट्रपतिको भारत भ्रमण पश्चिमी देशहरूले विशेष चासोका साथ नियालिरहेका छन्। भारत र रूसबीचको २३औं शिखर सम्मेलनपछि व्यापार र अन्य धेरै क्षेत्रहरूमा सम्झौतासमेत हुने अपेक्षा गरिएको छ। पुटिन आज राति साढे ९ बजे लगभग २८ घण्टाको भारत भ्रमणपछि फर्कने कार्यक्रम छ।










