स्वास्थ्य बीमा काभ्रेका आठ अस्पतालबाट सेवा उपलब्ध

काभ्रे । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकका आठ अस्पतालहरूले अब पहिलो सेवा प्रदान गर्न थालेका छन्।

आइतबारदेखि मण्डनदेउपुर नगरको आधारभूत अस्पतालले सेवा थालनी गरेपछि, जिल्लामा स्वास्थ्य बीमाको पहिलो सेवा प्रदान गर्ने अस्पतालहरूको संख्या आठ पुगेको हो। उक्त अस्पतालले साउन अन्तिम साता स्वास्थ्य बीमा बोर्डसँग आबद्ध भइ पहिलो सेवा केन्द्रको स्वीकृति प्राप्त गरेको थियो। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले औपचारिक रूपमा सेवाको उद्घाटन गरेका छन्।

कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाईबाले स्वास्थ्य बीमालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नगरपालिकाले आवश्यक तयारी गरेको र आइतबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको बताए। उनका अनुसार, नगरका ६५ प्रतिशत नागरिकले स्वास्थ्य बीमा गरिसकेका छन्।

यसअघि, सुन्थान, खोपासी, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रसँगै बनेपा नगर अस्पताल र मेथिनकोट प्रादेशिक अस्पतालले स्वास्थ्य बीमा सेवा प्रदान गर्दै आएका थिए। धुलिखेल नगरले भने आफ्नो स्वास्थ्य केन्द्रको सेवा गत साउन २६ देखि धुलिखेल अस्पताल परिसरबाट शुरु गरेको छ। यसअघि, भौतिक पूर्वाधार र जनशक्ति अभावका कारण उक्त केन्द्रले स्वास्थ्य बीमाको पहिलो सेवा बिन्दु सञ्चालन गर्न सकेको थिएन। नगरले धुलिखेल अस्पताल परिसरमा चिकित्सक, नर्स र औषधिसहित ‘रिफरल’ सेवा पनि शुरु गरेको जनाएको छ।

गत साउन १ गतेदेखि सरकारले सरकारी स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमाको पहिलो सेवा बिन्दु बनाउने नियम लागू गरेको थियो। २०७६ मङ्सिर १ देखि काभ्रेपलाञ्चोकका चार स्वास्थ्य संस्थामा यो नियम लागू गरिएको थियो, जसमा मेथिनकोट अस्पताल र प्रास्वाके सुन्थान र खोपासीले पहिले नै सेवा दिइरहेका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ