मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, महत्वपूर्ण निर्णयहरूको सूची

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैंक (एडिबी) बाट प्राप्त हुने करिब १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले पवनकुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहाको लहान नगरपालिकाको १–१५–१० विघा जग्गा र सोमा बनेको भवनलाई रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको नाममा हस्तान्तरण गर्दा लाग्ने लाभकर छुट दिने निर्णय गरेको छ।

बैठकले नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको नवौँ बैठकमा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिको संयोजकत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ। यो बैठक आगामी पुस १२ देखि १४ गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ।

मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना सम्बन्धी आठ अस्थायी पदहरूको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको निर्णय पनि बैठकमा लिइएको छ।

सशस्त्र प्रहरीको उच्च पदस्थ अधिकारीहरूको सरुवा पनि गरिएको छ। बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, वंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गर्ने निर्णय गरेको छ। साथै, नेपाली सेनाका दुई महासेनानीलाई सहायक रथी र एकजना प्रमुख सेनानीलाई महासेनानी पदमा बढुवा गर्ने तथा छ जना उपरथी र सातजना महासेनानीको सरूवा गर्ने निर्णय गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ