काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले इलाम-२ का निवर्तमान सांसद र एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भेटवार्ता गरेकी छन्।
भेटमा नेम्बाङले इलाममा बाढी र पहिरोका कारण क्षतिग्रस्त भएका राजमार्ग र पुलहरूको पुनर्निर्माणमा तदारुकता देखाउनुपर्ने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। यसमा प्रधानमन्त्री कार्कीले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र सरकारले यस विषयमा गम्भीरतापूर्वक काम गरिरहेको जानकारी दिएकी थिइन्।
प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र स्थिरता कायम गर्नका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने कुरामा जोड दिँदै भनिन्, “हामी चुनाव गराउनका लागि प्रतिबद्ध छौँ। असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गर्नका लागि काम गरेका छौँ। शान्ति र कानुनी शासनको बहालीमा सफलता मिलेको छ। अब हाम्रो लक्ष्य भनेको चुनाव गराउनु हो। चुनाव भए मात्रै मुलुकमा दिगो शान्ति र स्थायित्व आउन सक्छ।”
नेम्बाङले प्रधानमन्त्रीलाई चुनावमा सफलता मिलोस् भन्ने शुभकामना पनि दिए। उनले भने, “हाम्रो शुभेच्छा छ, शुभकामना छ। चुनाव गराउन सफल हुनुहोस्।”
प्रधानमन्त्री कार्कीले नेम्बाङसँग चुनावको तयारीको बारेमा पनि जिज्ञासा राखी, नेम्बाङले तयारी भइरहेको जानकारी दिए। उनले युवालाई नेतृत्वमा ल्याउने महत्त्वको कुरा गर्दै भने, “अब युवा नै देशको बागडोर सम्हाल्नुपर्छ। चुनावको तयारीमा रहनुहोस्, तपाईँजस्तो युवा देशको नेतृत्व गर्नुपर्छ। पुराना अनुभव र सल्लाह महत्त्वपूर्ण छन्, तर देशको नेतृत्व युवा नै गर्नु पर्छ। युवामा साहस, ऊर्जा र नयाँ दृष्टिकोण हुन्छ जसले साहसिक कदम चाल्न सक्छ।”










