राष्ट्रपति पौडेल: फागुन २१ को निर्वाचन ढिलाइ भए मुलुक अनिश्चिततिर जान्छ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन कुनै बहानामा ढिलाइ भए मुलुक अनिश्चिततिर जाने चेतावनी दिएका छन्।

आज मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलसँग राष्ट्रपति कार्यालय, महाराजगञ्जमा भएको भेटमा उनले, तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सबै नेपालीको साझा दायित्व भएको कुरा स्पष्ट पारे।

राष्ट्रपतिको भनाइमा, “फागुन २१ गतेको चुनाव तलमाथि भयो भने देश अनिश्चिततिर जान्छ। त्यसैले यो निर्वाचन सफल पार्नु सबै नेपालीको दायित्व हो। यो सरकार आफूलाई प्राप्त निश्चित समय पूरा गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरी बिदा हुनेछ।”

भेटका क्रममा, मानव अधिकार तथा शान्ति समाजले लामो समयसम्म निर्दलीय सरकारको अस्तित्व लोकतन्त्रको मूल मर्म र नागरिक सर्वोच्चताको विपरीत हुने कुरा गर्दै, तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुँदा लोकतन्त्र पुनः स्थिर हुने विश्वास व्यक्त गरेको थियो।

समाजका प्रतिनिधिहरूले २०८२ भदौ २३ गते जेनजीद्वारा आह्वान गरिएको प्रदर्शनका क्रममा भएको दमन र हत्यापछि उत्पन्न राजनीतिक रिक्ततामा राष्ट्रपति पौडेलको भूमिकाको प्रशंसा गरेका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ