काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले आठ वटा मृत्युदण्डका मुद्दामा अदालतमा कारबाही भोगिरहेका समयमा राष्ट्रिय एकता र मेलमिलापको नीति अपनाएर स्वदेश फर्कने निर्णय गरेका थिए। आजको मेलमिलाप दिवसको अवसरमा, नेपाली कांग्रेस र यसका भ्रातृ संस्थाहरूले देशभर विविध कार्यक्रमहरू आयोजना गर्दै एकता र मेलमिलापको महत्त्वलाई उजागर गर्दैछन्। यस अवसरमा बिपी सङ्ग्रहालयले पनि विशेष कार्यक्रम गर्ने जनाएको छ।
मेलमिलाप दिवसको इतिहास २०३३ पुस १६ गतेको घटनासँग जोडिएको छ, जब बिपी कोइरालाको नेतृत्वमा कांग्रेसका अन्य नेताहरू गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाइँ र नीलाम्बर पन्थी लगायतका नेता तथा कार्यकर्ताले लगभग आठ वर्षको निर्वासित जीवन त्यागी स्वदेश फर्किए। उनीहरूले भारतको सिक्किमको विलय र नेपाली राजनीतिक घटनाक्रमको बीचमा राष्ट्रियता र मेलमिलापको नीति अपनाएर स्वदेश फर्कने निर्णय गरे।
बिपी कोइरालाले आफ्नो जीवनकालमा ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’, ‘हिटलर र यहुदी’ जस्ता उपन्यास र ‘आफ्नो कथा’ (आत्मकथा) लेखेका थिए। जेल जीवनका बारेमा लेखिएको ‘जेल जर्नल’ पनि उनका प्रमुख कृतिहरू मध्ये एक हो।
२०३३ पुस १६ गतेको मेलमिलाप नीति लिई स्वदेश फर्केका बिपी कोइरालाले फेरि सुन्दरीजल बन्दीगृहमा समय बिताए र त्यहाँ लेखेको आफ्नो दैनिकीलाई ‘फेरि सुन्दरीजल’ नाममा प्रकाशित गरे।










