प्रधानमन्त्री शाहद्वारा नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई राष्ट्र सेवामा समर्पित हुन आग्रह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन आग्रह गरेका छन्। भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहमा प्रधानमन्त्री शाहले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद प्राप्त क्याडेटहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे।

उनले मातृभूमि र जनताप्रति पूर्ण समर्पित भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न, सैनिक आचरण र अनुशासनको दायराभित्र रही कर्तव्यप्रति सजग रहन जोड दिएका छन्। फरक सामाजिक पृष्ठभूमिका जवानहरूको नेतृत्व गर्दै एकीकृत र सक्षम टोली निर्माणमा नवआयुक्त अधिकृतहरू सफल हुनेमा विश्वास व्यक्त गरे। समारोहमा उत्कृष्ट क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी तथा छडी प्रदान गरिएको थियो।

प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा १८३ अधिकृत क्याडेटले आयुक्त पद प्राप्त गरेका थिए। सो अवसरमा प्रधान सेनापति महारथी अशोकराज सिग्देलले मित्रराष्ट्र केन्या र जाम्बियाबाट तालिममा सहभागी तीन विदेशी क्याडेटलाई ‘नेपाली मिलिटरी एकेडेमी मेडालियन’ प्रदान गरे।

नेपाली सैनिक प्रतिष्ठानबाट हालसम्म ६ हजार ७३४ जना क्याडेट तथा १ हजार ६०८ प्राविधिक अधिकृतले तालिम सफलतापूर्वक पूरा गरिसकेका छन् भने विभिन्न राष्ट्रका ३२ विदेशी शिक्षार्थी पनि सहभागी भइसकेका छन्। समारोहमा नवआयुक्त अधिकृतहरूको अभिभावक तथा आफन्तजनले उपस्थित भएर सुशोभन गरेका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ