काठमाडौँ । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले साँझ ५ बजे सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
हाल सर्वोच्च अदालतको प्रधानन्यायाधीशलगायत केही संवैधानिक पदहरू रिक्त रहेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार रिक्त पदमध्ये प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने उद्देश्यले बैठक बोलाइएको हो ।
परिषद्को बैठक नबस्दा हाल कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले जिम्मेवारी सम्हाल्दै आएकी छन् ।
बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद् अध्यक्षका हैसियतमा प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन् ।










