अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जारी आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा अमेरिकाले नेपाललाई जितका लागि १९६ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १९५ रनमा अलआउट भयो। एक समय १५३ रनमा तीन विकेट गुमाएको अमेरिकाले त्यसपछि थप ३७ रन जोड्दा बाँकी सात विकेट गुमायो।

अमेरिकाका लागि ओपनर स्मित पटेलले ८९ बलमा तीन छक्का र आठ चौकासहित ८३ रन बनाए भने सेहन जयसूर्याले ५२ बलमा एक छक्का र पाँच चौकासहित ५० रन जोडे। मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन बनाए पनि अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्।

नेपालका दीपेन्द्र सिंह ऐरीले घातक बलिङ गर्दै चार विकेट लिए भने सोमपाल कामीले दुई विकेट हात पारे। सन्दीप लामिछाने र गुलशन झाले समान एक–एक विकेट लिए।

लिग–२ शृङ्खलामा हालसम्म दुई खेल सम्पन्न भएका छन् र दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ। नेपालका लागि यो खेल विश्वकप ग्लोबल क्वालिफायर र एकदिवसीय मान्यता जोगाउने दृष्टिले महत्वपूर्ण मानिएको छ।

नेपालले २५ खेलमा ८ जित, १५ हार र २ बराबरीसँगै १८ अंक जोडेको छ भने अमेरिका ३६ अंकसहित दोस्रो स्थानमा छ। स्कटल्याण्ड ३८ अंकसहित शीर्ष स्थानमा रहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ