कांग्रेस बागमती प्रदेश भेला सम्पन्न, ३३ बुँदे ‘बागमती संकल्प’ जारी

काठमाडौँ । नेपाली कांग्रेसको बागमती प्रदेशस्तरीय भेला ‘बागमती संकल्प’ जारी गर्दै सम्पन्न भएको छ।

धुलिखेलमा सोमबारदेखि सुरु भएको दुई दिने ‘प्रदेश र स्थानीय तह केन्द्रित’ भेलाले मंगलबार ३३ बुँदे संकल्प पारित गर्दै आफ्नो कार्यक्रम समापन गरेको हो।

भेलाले संविधानप्रदत्त नागरिक स्वतन्त्रता, हक र अधिकारको संरक्षण गर्दै नागरिकमुखी नीतिमार्फत उत्तरदायी र जवाफदेही सरकारको रूपमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाएको छ।

त्यस्तै, संघीय सरकारलाई संविधानको मर्म, विधि–प्रक्रिया, नागरिकको आत्मसम्मान र मानवीयतालाई केन्द्रमा राख्न ध्यानाकर्षण गराउने निर्णय पनि संकल्पमा उल्लेख गरिएको छ।

बागमती प्रदेश सरकार र स्थानीय तहमा भएका असल अभ्यास तथा नवप्रवर्तनलाई सूचीबद्ध गरी अन्य स्थानीय तहमा समेत विस्तार गर्ने तथा समन्वय र सहकार्यलाई सुदृढ गर्ने निष्कर्ष भेलाले निकालेको छ।

‘तीन स’ (समन्वय, सहकार्य र सहअस्तित्व) को आधारमा संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन संघीय सरकारलाई अपिल गर्ने र त्यसप्रति आफूहरू प्रतिबद्ध रहने संकल्प पनि गरिएको छ।

साथै, पार्टी संगठन सुदृढीकरण, डिजिटल अभिलेखीकरण, क्रियाशील सदस्यता अद्यावधिक अभियान र ‘जरा अभियान’लाई प्रभावकारी बनाउँदै पार्टी गतिविधिमा आम सदस्यको सहभागिता बढाउने विषयमा पनि जोड दिइएको छ।

भेलामा बागमती प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, पार्टीका विभिन्न तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ