स्थानीय सरकारको भूमिका अझ महत्वपूर्ण बनेको छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि स्थानीय सरकारको भूमिका र गरिमा थप व्यापक बनेको बताएका छन् ।

सुनसरीको कोशी गाउँपालिकामा निर्माण गरिएको लौकही सिटी हलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताका आधारभूत आवश्यकता र अपेक्षाअनुसार विकासका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए । साथै, सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य, मान्यता र आदर्शलाई व्यवहारमा उतार्न सबै तहका सरकार सक्रिय हुनुपर्ने उनले बताए ।

“शान्ति, विकास र सुशासनमार्फत नै जनताको चाहना पूरा गर्न सकिन्छ । संविधान र शासन प्रणालीले निर्धारण गरेका उद्देश्य हासिल गर्न यसतर्फ विशेष ध्यान दिन आवश्यक छ,” राष्ट्रपति पौडेलले भने ।

स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले सेवा प्रवाह प्रभावकारी बनाउनु, आवश्यक सुविधा उपलब्ध गराउनु र विकासका योजनालाई अघि बढाउनु स्थानीय सरकारको मुख्य जिम्मेवारी भएको उनले उल्लेख गरे ।

राष्ट्रपति पौडेलले ग्रामीण क्षेत्रमा आधुनिक तथा बहुउपयोगी सिटी हल निर्माण हुनु सकारात्मक उपलब्धि भएको भन्दै यसलाई तीनै तहका सरकारबीचको सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा समेत व्याख्या गरे ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ