काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को सचिवालयले आम नागरिकसँग राय तथा सुझाव माग गरेको छ । संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित सात दिनभित्र लिखित सुझाव पठाउन आह्वान गरिएको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजक रहेको उक्त कार्यदलले विभिन्न राजनीतिक दलबाट लिखित सुझाव लिएर छलफल गरिसकेको जनाएको छ ।
कार्यदलले संविधानविद्, कानूनविद्, वरिष्ठ अधिवक्ता, पूर्वप्रशासक, पूर्वकूटनीतिज्ञ, सञ्चारकर्मी तथा अन्य राजनीतिक व्यक्तित्वहरूसँग समेत छलफल गरी सुझाव सङ्कलन गरेको छ ।
कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीका अनुसार बहसपत्र तयार गर्नका लागि विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग निरन्तर छलफल र सुझाव सङ्कलन भइरहेको छ ।










