काठमाडाैं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट उपभोगमुखी भएकाले यसले अपेक्षित रूपमा रोजगारी सिर्जना गर्न नसक्ने बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बजेटले ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखे पनि त्यो पूरा गर्न कम्तीमा २२ देखि २४ प्रतिशतसम्म आयात बढ्नुपर्ने अवस्था रहेको बताए। उनका अनुसार त्यसो भए मात्र अर्थतन्त्रमा तरलताको सन्तुलन कायम हुन सक्छ।
खतिवडाले सरकारले दीर्घकालसम्म करका दर स्थिर राख्ने प्रतिबद्धता जनाएको भए पनि व्यवहारमा त्यस्तो नदेखिएको टिप्पणी गरे। उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्य भए कर्पोरेट करको दर थप घटाउनुपर्ने उनको धारणा थियो।
उत्पादन बढाउने कर प्रणालीमा सुधार नगरी उपभोगसँग सम्बन्धित करहरूमा मात्र समायोजन गर्नु उचित नीति नभएको भन्दै उनले सरकारसमक्ष प्रश्न उठाए। साथै, व्यक्तिगत आयकरको माथिल्लो सीमा ३९ प्रतिशतबाट २९ प्रतिशतमा झार्नुले उत्पादनभन्दा उपभोगमा आधारित आर्थिक वृद्धिलाई नै प्राथमिकता दिएको उनको भनाइ थियो।










