काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ।
भारत भ्रमणमा रहेका लामिछानेले आफ्नो प्रतिनिधिमण्डलसहित विदेशमन्त्री जयशंकरसँग भेट गरेका हुन्। भेटमा नेपाल–भारत विकास साझेदारी तथा जनस्तरको सम्बन्धका विषयमा छलफल भएको बताइएको छ।
भेटपछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विदेशमन्त्री जयशंकरले रास्वपा सभापति लामिछाने र उनको टोलीसँग भेट्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, “नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँको प्रतिनिधिमण्डलसँग आज दिल्लीमा भेट्न पाउँदा खुसी लाग्यो। हाम्रो छलफल विकास साझेदारी र जनस्तरको सम्बन्धमा केन्द्रित रह्यो। विकास र समृद्धिलाई प्रवर्द्धन गर्न यिनको भूमिका महत्वपूर्ण रहनेछ।”
जयशंकरका अनुसार नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन विकास सहकार्य र जनस्तरको सम्पर्कले महत्वपूर्ण योगदान पुर्याउनेछ।










