काठमाडाैं । राष्ट्रियसभाको बैठक आज मध्याह्न १२:१५ बजे बस्ने भएको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको छ।
बैठकको प्रारम्भमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनेछन्।
त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
यस्तै, अर्थमन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा पेश गर्ने सम्भावित कार्यसूची छ।
पछिल्ला केही बैठकहरू प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर अवरुद्ध हुँदै आएका थिए। आजको बैठकमा भने बजेट र विधेयकसम्बन्धी कार्यसूचीमा केन्द्रित भएर छलफल अघि बढ्ने अपेक्षा गरिएको छ।










