काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा प्रविधिसम्बन्धी मन्त्रालय नयाँ नभई पुनःस्थापित भएको बताउँदै यसलाई ‘पुनर्जन्म पाएको मन्त्रालय’को संज्ञा दिएका छन्।
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत रूपमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले मन्त्रालय आफू आएपछि पहिलोपटक स्थापना भएको भन्ने धारणा गलत रहेको बताए। उनका अनुसार उक्त मन्त्रालय २०५३ सालमै स्थापना भएको थियो तर पछि अन्य मन्त्रालयमा गाभिएको थियो।



“टुहुरा मन्त्रालयले पुनर्जन्म पाएको हो, यो सातौँ पुनर्जन्म हो,” मन्त्री पुनले भने। उनले आगामी आर्थिक वर्षका लागि मन्त्रालयलाई चार अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै त्यसको ठूलो हिस्सा अझै खर्च शीर्षकमा नजोडिएको उल्लेख गरे।
मन्त्री पुनले आफू राजनीतिमा प्रवेश गर्नुको कारण देशप्रतिको प्रेम रहेको बताए। “म सांसद वा मन्त्री बन्ने व्यक्ति होइन, देशप्रतिको पिरतीले मलाई यहाँ ल्याएको हो,” उनले भने।
उनले अमेरिकाबाट केही वर्षका लागि नेपाल फर्किएको भए पनि गाउँसँग जोडिँदै जिल्ला र अन्ततः देशसँग गहिरो सम्बन्ध बनेको अनुभव सुनाए। “सुरुमा गाउँसँग पिरती बस्यो, त्यसपछि जिल्ला हुँदै देशसँग पिरती बस्यो। त्यही पिरतीले मलाई यहाँसम्म ल्याएको हो,” उनले भने।
आफूलाई ‘जोगी’को रूपमा चित्रित गर्दै मन्त्री पुनले व्यक्तिगत स्वार्थभन्दा देशको विकास र नवप्रवर्तनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।








