काठमाडौं । वर्तमान कविता समूह र नेपाली लोक बाजा सङ्ग्रहालयको संयुक्त आयोजनामा ‘धार्मिक सहिष्णुता र वर्तमान कविता’ विषयक विशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। लक्ष्मेश्वर मन्दिर परिसरस्थित नेपाली लोक बाजा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, मानवता र समकालीन यथार्थलाई केन्द्रमा राखेर कविता वाचन, विचार–विमर्श तथा सांगीतिक प्रस्तुति गरिएको थियो।
कार्यक्रममा विभिन्न कविहरूले धार्मिक सहिष्णुता, सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र समकालीन जीवनका विषय समेटिएका कविता वाचन गरे। गायक तथा संगीतकार शिशिर योगीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘दमाई दाइ’ लगायतका गीत प्रस्तुत गर्दै कार्यक्रमलाई सांगीतिक आयाम दिएका थिए।




सहभागी कवि तथा साहित्यकारहरूले धर्मका नाममा फैलाइँदै आएका हिंसा, विभाजन र असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सहअस्तित्व र पारस्परिक सम्मानको संस्कृतिलाई बलियो बनाउन सबैलाई आह्वान गरेका थिए।
वर्तमान कविता समूहका विश्व सिग्देलले समाजका समसामयिक विषयलाई कवितामार्फत सार्वजनिक बहसमा ल्याउने उद्देश्यले समूहले निरन्तर विशेष साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। कार्यक्रमपछि सहभागीहरूले नेपाली लोक बाजा सङ्ग्रहालयको अवलोकन गरेका थिए। सङ्ग्रहालयका संस्थापक रामप्रसाद कँडेलले साहित्य, सङ्गीत र लोकसंस्कृतिको अन्तरसम्बन्धबारे चर्चा गर्दै आगामी दिनमा प्रत्येक महिना नियमित साहित्यिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।






