बनेपा ÷शीर मेमोरियल अस्पतालको नयाँ ओपिडी भवन राजभाइ बनाई दिएका छन् ।
८१ वर्षीय राजभाई प्रधानको व्यक्तिगत खर्चमा ४ तले बहिरंग विभागको भवन निर्माण भएको हो ।
२०८१ कार्तिक २१ गते निर्माण थालिएको उक्त भवन अहिले बहिरंग र अन्तरंग सेवा विस्तार सजिलो हुने भएको छ । सुरुमा २ तलाको निर्माण थालिएको भएपनि प्रधानले अस्पतालको लागि अपर्याप्त हुने देखेपछि थप २ तला निर्माणको लागि सहयोग थप गरि दिएका थिए ।

भवनको उद्घाटन कार्यक्रममा समाजसेवी राजभाई प्रधानले आफू कुनै उद्योगपति, धनाढ्य नभएपनि जन्मेपछि समाजलाई केही योगदान दिनुपर्छ भनेर अस्पतालको सेवा विस्तारको लागि भवन निर्माणलाई सहयोग गरेको बताए ।
१० बर्षअघि भवन निर्माणको कुरा अघि बढाएको भएपनि नक्सा निर्माण, नक्सा पास लगायतका कामले केही ढिला भएको प्रधानले बताए । अहिले आफू जन्मिएको स्थानमा केही गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।
बनेपा स्थायी घर भएका प्रधान हाल ललितपुरको बागडोल बस्दै आएका छन् । शिक्षा, स्वास्थ्य क्षेत्रको लागि सहयोग गर्दै आएका प्रधानले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल), कोटेश्वर, कुलेश्वर लगायतका क्षेत्रमा सामाजिक कार्य अग्रसर छन् ।
हस्तान्तरण कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्य, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, वडा नं ५ का अध्यक्ष बलराम अधिकारी, वरिष्ठ साहित्यकार मोहन दुवाल, मानवअधिकार अभियन्ता राजु सरकार, अस्पतालका तर्फबाट डा. ताराजङ्ग गुरुङलगायतले प्रधानको सहयोगी भावनाको प्रशंसा गर्दै बनेपा, काभ्रे र अन्य जिल्ला समेतका सेवाग्राही लाभान्वित हुने बताए ।




अस्पतालले प्रशासनले अस्पताल निर्माणका लागि सहयोग गर्ने दाता, प्राविधिक, व्यवस्थापक एवं सम्पूर्ण सहयोगीहरुलाई कृतज्ञता व्यक्त गरेको छ ।
शिर मेमोरियल हस्पिटल सेभेन्थ डे एड्भेन्टिस्ट अस्पताल हो । यो नेपालको बनेपा नगरपालिकामा रहेको छ । यो बनेपाको सबै भन्दा पुरानो अस्पताल हो । यस अस्पतालले बनेपाका र छिमेकमा रहेका स्थानमा रहेका मानिहरूलाई औषधोपचार सेवा प्रदान गर्दै आइरहेको छ । जिल्लाकै पुरानो अस्पताल शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालमा बहिरंग भवन ४ तला बनेको छ ।
बहिरंग भवनबाट काभ्रे जिल्ला र त्यस आसपासका नागरिकले गुणस्तरीय सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।






