सउल, दक्षिण कोरिया – कोरियामा रहेका नेपाली श्रमिक र विद्यार्थीहरूको समस्या समाधान गर्न गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले पहिलो पटक श्रमिक तथा विद्यार्थी लक्षित हेल्प डेस्क सञ्चालनमा ल्याउने तयारी गरेको छ।
यो हेल्प डेस्क कोरियामा रहेका सम्पूर्ण नेपालीहरूलाई लक्षित गरी तयार गरिएको एकीकृत सेवा हो, जसको उद्देश्य आपतकालीन अवस्थाहरूमा सहयोग, कानुनी सल्लाह, मानसिक स्वास्थ्य, भाषा अनुवाद, भिसा, रोजगार, र शैक्षिक परामर्श जस्ता सेवाहरू उपलब्ध गराउनु हो।
हालसम्म पनि कोरियामा क्रियाशील विभिन्न संघ-संस्थाहरू र व्यक्तिहरूले आफ्नो ठाउँबाट सहयोग गर्ने प्रयास गर्दै आएका थिए, तर यस्ता प्रयासहरूमा राम्रो समन्वय हुन नसक्दा समस्याहरू जटिल बन्दै गएका थिए। नेपाली श्रमिक र विद्यार्थीहरूको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ, र उनीहरूले भोग्नुपर्ने समस्या पनि विकराल रूप लिन थालेको सन्दर्भमा, अबको आवश्यकता भनेको सबै नेपाली सामाजिक संस्था, विद्यार्थी समूह, पत्रकार, पेशेवर तथा सेवामन भएका व्यक्तिहरूलाई एउटै साझा मञ्चमा ल्याएर संस्थागत सेवा सञ्चालन गर्नु हो भन्ने सोचका साथ यो हेल्प डेस्क सुरु गर्न लागिएको हो।
यो सेवा प्रारम्भमा सउलमा स्थायी केन्द्रका रूपमा सञ्चालन हुनेछ, र पछि आवश्यकता अनुसार कोरियाका अन्य मुख्य शहरहरूमा विस्तार गरिने योजना छ। NRNA SOUTH KOREA को नेतृत्वमा तयार पारिएको यो अभियानमा कोरियामा रहेका विभिन्न सामाजिक अगुवा, विद्यार्थी प्रतिनिधि, कानुनी सल्लाहकार, भाषिक स्वयंसेवक, स्वास्थ्यकर्मी तथा पत्रकारहरूको समेत संलग्नता रहनेछ।
NRNA NCC SOUTH KOREA का अध्यक्ष बिपिन कुमार गुरुङ ले जानकारी गराए अनुसार, “हामी विगतका कमजोरीबाट सिक्दै, कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई एउटै साझा मञ्चमा ल्याउने उद्देश्यले यो हेल्प डेस्क सञ्चालनमा ल्याउन लागेका छौं। धेरैले भोगेका पीडामा अब राहतको अनुभूति दिलाउन यो सेवा एक कोशेढुंगा हुनेछ।”
हेल्प डेस्कमार्फत श्रमिक तथा विद्यार्थीहरूले भाषा, कानुनी, स्वास्थ्य, कम्पनी परिवर्तन, भिसा, अध्ययन र करियर सम्वन्धी परामर्श तुरुन्तै प्राप्त गर्न सक्नेछन्। सेवा प्रारम्भको मिति, स्थान, सम्पर्क विवरण र सेवा समय बारे विस्तृत जानकारी चाँडै सार्वजनिक गरिने कुरा उपाध्यक्ष स्याम राज तिमिल्सिना ले जानकारी दिए
कोरियामा रहेका सम्पूर्ण नेपाली श्रमिक, विद्यार्थी, सामाजिक संस्था, पत्रकार र पेशेवरहरुलाई यो अभियानमा सक्रिय सहभागिता जनाउन, सेवा लिन र प्रचारप्रसार गर्न NRNA SOUTH KOREA ले विशेष अनुरोध गरेको छ।












