पाकिस्तानमा मनसुनी वर्षाका कारण २० जनाको मृत्यु

कराची (पाकिस्तान) । पाकिस्तानमा लगातार भइरहेको मनसुनी वर्षाका कारण बुधबारसम्म २० जनाभन्दा बढीको मृत्यु भएको छ। गत हप्तामात्रै एक गाउँ बगाउँदा ४०० भन्दा बढीको ज्यान गएको थियो।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए)का अनुसार उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा ११ जनाको र कराचीमा १० जनाको बाढीका कारण मृत्यु भएको छ।
मौसम विभागले शनिबारसम्म थप वर्षा हुने अनुमान गरेको छ। प्रभावित क्षेत्रका विद्यालयहरू बन्द गरिएको छ। सिन्ध प्रान्तका प्रमुख मौसम विज्ञ अमिर हैदर लघारीका अनुसार बाढीको मुख्य कारण कमजोर पूर्वाधार हो।
दुई जिल्लामा वर्षाका कारण ४० देखि ५० घर क्षतिग्रस्त भएको प्रान्तीय विपद् व्यवस्थापन अधिकारी मुहम्मद युनुसले जानकारी दिएका छन्।
गत बिहीबारदेखि अफगानिस्तान सीमावर्ती पहाडी प्रान्त खैबर पख्तुनख्वामा मात्रै ३५० जनाभन्दा बढीको ज्यान गइसकेको छ। सेनासहितका उद्धार टोलीहरूले पहिरो र बाढीले प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी जारी राखेका छन्।
राहत शिविर स्थापना गरेर चिकित्सा सहायता र सुक्खा राशन उपलब्ध गराइरहेको सेनाका कर्नल इरफान अफ्रिदीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।
अधिकारीहरूले सेप्टेम्बरको मध्यसम्म मनसुनी वर्षा जारी रहने चेतावनी दिएका छन्। मनसुन सुरु भएदेखि अहिलेसम्म करिब ७५० जनाको ज्यान गइसकेको छ। सन् २०२२ मा मनसुनी बाढीले पाकिस्तानको करिब एक तिहाइ भूभाग डुबाएको थियो, जसमा झन्डै १,७०० जनाको मृत्यु भएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ