वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार युक्रेनलाई रक्षा गर्न अमेरिकी सेना नपठाउने स्पष्ट आश्वासन दिएका छन्। उनले भने, “तपाईँलाई मेरो आश्वासन छ, अमेरिकी सेना युक्रेनको सिमाना रक्षा गर्न जाने छैन।”
यसअघि सोमबार भने उनले यस्तो सम्भावनालाई पूर्ण रूपमा नकारेका थिएनन्। ट्रम्पले फक्स न्युजको ‘फक्स एन्ड फ्रेन्ड्स’ कार्यक्रममा भने, “म राष्ट्रपति हुँ र म तपाईंलाई आश्वस्त पार्छु, अमेरिकी सेना त्यहाँ जाँदैन।”
रिपब्लिकन नेता ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग सोमबार ह्वाइट हाउसमा रूस–युक्रेन युद्ध अन्त्य गर्न लामो वार्ता गरेका थिए। पत्रकारको प्रश्नमा उनले जेलेन्स्कीले माग गरेको सुरक्षा ग्यारेन्टीअन्तर्गत अमेरिकी सेना पठाउने विषय अस्वीकार नगरे पनि अन्ततः स्पष्ट पार्दै सैनिक तैनाथ नगर्ने बताए।
गत हप्ता अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि ट्रम्पले पुटिन युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे खुला देखिएको बताएका थिए। तर मंगलबार उनले शान्ति वार्तामा जोड दिँदै भने, “क्रिमिया फिर्ता पाउनु वा युक्रेनको नाटो सदस्यता दुवै कुरा असम्भव छन्।”
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले पनि पुष्टि गर्दै भनिन्, “कुनै पनि शान्ति मिसनमा अमेरिकी सेना जमिनमा रहने छैन।”
ट्रम्पले सम्भावित सम्झौताबारे आशा व्यक्त गर्दै भने, “पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता गराउने प्रयास भइरहेको छ। आवश्यक परेमा त्रिपक्षीय बैठक पनि हुनेछ।” तर पुटिन युक्रेनी नेतासँग प्रत्यक्ष भेट्न इच्छुक छन् कि छैनन् भन्नेबारे क्रेमलिनले अझै स्पष्ट पारिसकेको छैन।
रूसी विदेश सल्लाहकार युरी उशाकोभले द्विपक्षीय वा त्रिपक्षीय वार्ताबारे कुनै संकेत दिएका छैनन्। तर ट्रम्पले भने, “मलाई लाग्छ पुटिन यस युद्धबाट थकित छन्, सबै थकित छन्। दुई हप्ताभित्र स्थिति प्रष्ट हुनेछ।”










