काठमाडौँ – भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन शनिबार काठमाडौँ आइपुगेकी छन्। नेपाली उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उनी तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आएकी हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रीहरू आरजु राणा देउवा, बद्री प्रसाद पाण्डे तथा अन्य उच्च पदाधिकारीहरूले उपराष्ट्रपति सुआनलाई स्वागत गरेका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार भियतनामतर्फबाट नेपालतर्फको यो पहिलो उच्चस्तरीय भ्रमण हो। भदौ ८ गते काठमाडौँमा दुई उपराष्ट्रपतिबीच प्रतिनिधिमण्डलीय वार्ता हुने तय भएको छ। सो क्रममा दुवै मुलुकबीच आपसी हितका विषयमा छलफल हुनेछ।
भ्रमण अवधिमा उपराष्ट्रपति सुआनले नेपालका उच्च पदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ। नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वर्षगाँठकै अवसरमा भएको यो भ्रमणलाई दुवै देशले विशेष महत्व दिएका छन्।
सुआन आगामी भदौ ९ गते स्वदेश फर्किनेछिन्।










