काठमाडौं । नेवाः नुग र काठमाडौं महानगरपालिका वडा नं. २३ को संयुक्त आयोजनामा भएको काठमाडौंको सबैभन्दा जीवन्त पर्व येँयाः (इन्द्रजात्रा) को मूर्त तथा जीवन्त÷अमूर्त सम्पदाको अभिलेखिकरण दस्तावेज विमोचन कार्यक्रम शुक्रबार हनुमान ढोकामा सम्पन्न भएको छ ।
विमोचन कार्यक्रममा प्रमुख अतिथि एवं काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले जति पनि सम्पदा रहेका छन् ती सम्पदा, सम्पदा मात्र नभई हाम्रो पहिचान रहेको बताएकी छिन् । हाम्रा सम्पदाहरू पहिलेदेखी नै मौखिक रुपमा पुस्तान्तरण हुँदै आइरहेको र अहिलेको समयमा सम्पदालाई मौखिक सँगसँगै अभिलेख गरेर दस्तावेज बनाउनु अति आवश्यक रहेको डंगोलले बताएकी छिन् ।
जबसम्म मूर्त÷अमूर्त जात्रा, संस्कृति हुन्छ तबसम्म काठमाडौं रहन्छ भन्दै जात्रा, संस्कृति, रितिरिवाजहरुमा कुनै पनि राजनीतिक रंग मिसिनु, राजनीतिक रोकतोक हुनुहुँदैन भन्ने तर्क राखिन् । जसरी यस पटक येँयाः पुन्ही दस्तावेज गरियो, त्यसगरी सबै मूर्त तथा अमूर्त सम्पदाहरूलाई दस्तावेज गर्नुपर्ने र अन्य सबै वडाले यसको अनुशरण गर्न उपमेयर डंगोलले आग्रह समेत गरिन् । उनले रिसर्चको लागि काठमाडौं महानगरपालिका सदैव साथ रहने पनि प्रतिबद्धता व्यक्त गरिन् ।
विमोचन कार्यक्रममा मूर्त तथा जीवन्त÷अमूर्त सम्पदा अभिलेखिकरण दस्तावेजका अनुसन्धानकर्ता सुरेश प्रसाद श्रेष्ठले अभिलेखिकरणका बारेमा आफ्नो धारणा राख्दै इन्द्रजात्रामा हुने मूर्त–अमूर्त जात्राका महत्वबारे समयअनुसार परिवर्तन हुँदै आएको संस्कृति, परम्पराको बारे लिपीबद्द गरिएको बताएका छन् । अहिलेको समयमा मुख्य चुनौती भनेको पुस्ता हस्तान्तरण, आर्थिक, सम्पदाको संरक्षण र सुरक्षा रहेको पनि बताए । साथै चुनौतीहरूलाई स्थानीय निकाय, राज्य लगायत सम्बन्धित संघसंस्थाहरूले यस विषयमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
कामनपा वडा नं. २३ का वडा अध्यक्ष मचाराजा महर्जनले कार्यक्रमको सभापतित्व गर्दै इन्द्रजात्रा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रुपमा परिचित भईसकेको बताएका छन् । कार्यक्रममा उपमेयर सुनिता डंगोल र सामाजिक व्यक्तित्व गणपतिलाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।










