राइनासमा पसल अनुगमन, व्यवसायी पसल बन्द गरेर भागे

लमजुङ  । चाडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय लमजुङले राइनास नगरपालिकाभित्रका पसलहरूको अनुगमन सुरु गरेको छ। आइतबार सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतमको नेतृत्वमा सुरु भएको अनुगमनमा वडा नं. ४ र ५ वरपरका पसलहरू प्रायः बन्द अवस्थामा भेटिएका थिए।

अनुगमन टोलीका अनुसार सुरुवाती चरणमै दुई–चार पसल चेकजाँच गरेपछि अन्य व्यवसायीहरूले एक–आपसमा सूचना आदानप्रदान गरी पसल बन्द गरेका थिए। प्रशासनले भने जानकारी नदिई छड्के अनुगमन थालेको थियो।

विशेष गरी चाडपर्वका बेला सम्भावित कालोबजारी, खाद्य सामग्रीको गुणस्तर तथा मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले अनुगमन सुरु गरिएको हो। अनुगमनको क्रममा १० वटा पसल जाँच्दा धेरैजसो दर्ता विना सञ्चालन भइरहेको पाइएको थियो।

यस क्रममा एक किराना पसललाई पाँच हजार रुपैयाँ जरिवाना गरिनुका साथै अन्यलाई चेतावनी दिइएको सहायक प्रजिअ गौतमले बताए। पसलहरूमा म्याद गुज्रिएका सामान भने न्यून मात्रामा मात्र फेला परे। टोलीले उपभोक्तालाई बिल उपलब्ध गराउन र मूल्यसूची टाँस्न अनिवार्य गर्न निर्देशन दिएको छ।

अनुगमन टोलीमा प्रहरी निरीक्षक राजाराम खतिवडा, नगरपालिकाका प्रतिनिधि, प्रशासन कार्यालयका कर्मचारी र सञ्चारकर्मीहरू समेत सहभागी थिए। प्रशासनले राइनाससँगै जिल्लाका अन्य क्षेत्रमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ