नेपाल–चीन साझेदारीमा पेट्रोलियम परियोजना: रोजगारी र ऊर्जा सुरक्षामा आशा

दैलेख ।  दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पेट्रोलियम तथा प्राकृतिक ग्यासको ठूलो भण्डारण फेला परेपछि सिङ्गो देशमा उत्साह बढेको छ । चीनको जियोलोजिकल सर्भे कम्पनी र खानी तथा भूगर्भ विभागको संयुक्त पहलमा विसं २०७८ वैशाखदेखि सुरु भएको ड्रिलिङबाट करिब चार हजार मिटर गहिराइमा परीक्षण गर्दा प्रारम्भिक रूपमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास भएको पुष्टि भइसकेको छ ।

यो परिणाम जम्मा चारवटा सम्भावित कुवामध्ये पहिलो मात्र हो । बाँकी तीन कुवाको प्रारम्भिक अनुमानअनुसार जलजले क्षेत्रमा कुल ४३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ, जसले करिब ५० वर्षसम्म नेपालको आवश्यकताहरू धान्न सक्ने सम्भावना देखिएको छ ।

हाल नमूनाको विस्तृत प्रतिवेदन तयार गर्ने काम भइरहेको र सन् २०२५ को डिसेम्बरसम्म अन्तिम प्रतिवेदन सार्वजनिक हुने अपेक्षा गरिएको छ । त्यसपछि व्यावसायिक उत्खनन र उत्पादनको प्रक्रिया अघि बढ्नेछ ।

यसैबीच, सरकारले नेपाल आयल निगमका निर्देशक विनितमणी उपाध्यायको संयोजकत्वमा चार सदस्यीय समिति बनाएर व्यावसायिक उत्पादन र सदुपयोगबारे अध्ययन सुरु गरिसकेको छ । समितिले स्थल अवलोकनसहित ग्यासको उपयोग, पूर्वाधार आवश्यकता, लागत र सम्भावनाबारे प्रतिवेदन तयार गर्ने तयारी गरेको छ ।

यो परियोजना नेपाल–चीनबीच सन् २०१९ को समझदारीपछि चीनको अनुदानमा पाइलट प्रोजेक्टका रूपमा अघि बढाइएको हो । यसले रोजगारी सिर्जना, उद्योगमैत्री वातावरण र ऊर्जा सुरक्षामा ठूलो योगदान गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ