रसुवा । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा अवस्थित तातोपानी कुण्डमा सरसफाइसँगै स्नानस्थलको क्षमता विस्तार गर्ने काम सुरु गरिएको छ। गत असार २४ र साउन १४ गते ल्हेन्देखोलामा आएको बाढीले कुण्डलाई छोपेर क्षति पु¥याएपछि सरसफाइ र मर्मत कार्यसँगै क्षमता विस्तार गर्न थालिएको हो।
गाउँपालिका–२ को पहलमा एक्स्काभेटर प्रयोग गरेर कुण्डलाई व्यवस्थित बनाउन काम भइरहेको वडा अध्यक्ष कामी छिरिङ तामाङले जानकारी दिए। रसुवा र छिमेकी जिल्ला नुवाकोटसम्मका स्थानीयवासी यहाँ स्नान गर्न आउने गर्छन्।
तातोपानीमा स्नान गर्दा छाला रोग, ग्यास्ट्रिक, बाथ तथा चोटपटकजस्ता समस्या निको हुने विश्वासले मानिसहरू आकर्षित हुने गरेको स्थानीय युवा निमादोर्जे घलेले बताए। मर्मतपछि निर्माण हुने दुई पोखरीमा एकैपटक २५ जनाले स्नान गर्न सक्ने सुविधा हुने जनाइएको छ। साथै, बाढीले बगाएका सार्वजनिक शौचालय र भान्छाघर पनि छिट्टै पुनर्निर्माण गरिने वडा कार्यालयले जनाएको छ।










