स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ३४ जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते भएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको हो।
मृतकमध्ये निजामती कर्मचारी अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा २, त्रिवि शिक्षण अस्पतालमा १, बयोधा अस्पतालमा २, फ्रन्टलाइन अस्पतालमा ३, बी एन्ड सी अस्पताल विर्तामोडमा १, विर्तासिटी अस्पतालमा १, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा २ र भेरी अस्पतालमा ५ जनाको निधन भएको विवरण सार्वजनिक गरिएको छ।
त्यस्तै, अहिले ३२१ जना अस्पतालमा भर्ना भई उपचाररत छन्। सचिव डा. विकास देवकोटाका अनुसार निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, त्रिवि शिक्षण अस्पतालमा २५, काठमाडौँ मेडिकल कलेजमा ३५ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ।
यसैबीच, उपचारपछि ९४९ जना घर फर्किसकेका मन्त्रालयले जनाएको छ।










