कर्फ्यू बीच उपत्यकामा आवतजावत समय निर्धारण

काठमाडौँ  । पछिल्लो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यूलाई निरन्तरता दिइएको छ । नेपाली सेनाले सार्वजनिक गरेको विज्ञप्तिअनुसार, काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिहरुको निर्णयमा उक्त व्यवस्था कायम गरिएको हो।

विज्ञप्तिमा भदौ २७ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र भदौ २७ गते बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यू लागू हुने जनाइएको छ । अत्यावश्यक कार्यका लागि भने भदौ २७ गते बिहान ६ देखि ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म आवागमन गर्न सकिने व्यवस्था मिलाइएको छ।

निषेधाज्ञा र कर्फ्यूको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा खाद्यान्न, ग्यास, दूध, तरकारी, पानी, औषधि र इन्धन ढुवानी गर्ने सवारीसाधन सञ्चालन गर्न सकिनेछ । यस्तै, सरकारी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, बैंक तथा वित्तीय संस्था लगायतका कर्मचारीहरुले सक्कल परिचयपत्र देखाई आवतजावत गर्न पाउनेछन्।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो टिकट देखाएर विमानस्थलसम्म आउजाउ गर्न सक्ने व्यवस्था गरिएको छ । सेनाले यात्रु र नागरिकलाई नजिकैका सुरक्षाकर्मीहरूसँग आवश्यक समन्वय गर्न आग्रह गरेको छ।

उपत्यकाबाहिर भने जिल्ला सुरक्षा समितिहरुले सुरक्षा अवस्थाअनुसार आवश्यक निर्णय गर्ने जनाइएको छ। सेनाले कुनै पनि परिस्थितिमा जनताको सुरक्षा र उद्धारमा सक्रिय सुरक्षाकर्मीलाई सहयोग गर्न सबैमा अपिल गरेको छ।

यद्यपि, अत्यावश्यक कामका लागि तोकिएको समयमा समेत जुलुस, धर्ना, प्रदर्शनजस्ता गतिविधि पूर्ण रूपमा निषेध गरिने विज्ञप्तिमा स्पष्ट गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ