होटल क्षेत्रमा ठूलो क्षति, देशभर करिब २५ अर्ब नोक्सानी

काठमाडौं । होटल संघ नेपाल (हान)ले यसै हप्ता भएको सफल परिवर्तनकारी आन्दोलनको क्रममा झण्डै २ दर्जन होटलहरुमा ठूलो क्षति पुगेको जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित होटलहरु काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरुमा ठूलो क्षति भएको हानले जनाएको हो।

काठमाडौंमा रहेको हिल्टन होटेलको मात्रै आठ अर्बभन्दा बढीको क्षति भएको छ । देशैभर करिब २५ अर्ब भन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान रहेको संघले जनाएको छ ।

यसबाट प्रभावित होटेल मर्मत सम्भार, पुनर्निर्माण नगरी सञ्चालनमा आउन नसक्ने संघको भनाइ छ । “हाल संचालन अवरुद्ध भएका यी होटलहरूले व्यहोर्नु पर्ने बैंक तथा वित्तीय संस्थालगायत आर्थिक दायित्व नियमित रूपमा तिर्न/बुझाउन असमर्थ रहने देखिएको छ,” संघले भनेको छ ।

पब्लिक लिमिटेड कम्पनीसहितको निजी क्षेत्रमा भएको ठूलो लगानी र सम्पत्तिमा भएको पीडादायी क्षतिको तत्काल शक्तिशाली अधिकारप्राप्त न्यायायिक समितिबाट जाँचबुझ गर्न संघले माग गरेको छ ।

“अपराधीलाई उचित क्षतिपूर्तिसहितको दण्ड तथा मर्मत सम्भार पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराउनुपर्छ,” संघले विज्ञप्तिमा भनेको छ, “लगानीकर्ताको मनोबल कायम राख्न तथा आर्थिक स्थायित्व तथा समृद्धि हासिल गर्दै परिवर्तनकारी नयाँ युगमा पर्यटन विकासको कार्यमा सँगसँगै अघि बढ्न होटेल संघ नेपाल माग गर्छ ।”

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ