काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले आपराधिक गतिविधि भएको देखे वा आशंका भएमा टोल–फ्रि नम्बर १११४ वा अन्य सुरक्षा निकायमा तुरुन्त जानकारी दिन आग्रह गरेको छ।
प्रधान कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थिति सामान्य हुँदै जानसाथ केही व्यक्ति वा समूहले लुटपाट, आगजनी, सीमा अपराधजस्ता गतिविधि गर्नसक्ने भन्दै सतर्क रहन जनतालाई आग्रह गरेको हो।
विज्ञप्तिमा संचारमाध्यम तथा सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार–प्रसार गर्ने, परिस्थितिको अनुचित फाइदा उठाउने र आपराधिक गतिविधिमा संलग्न हुने प्रयास हुनसक्ने भन्दै त्यस्ता घटनाबारे तुरुन्त जानकारी दिन अनुरोध गरिएको छ।
सशस्त्र प्रहरीले राष्ट्रमा शान्ति, सुव्यवस्था र नागरिकको जीउधनको सुरक्षामा आफू प्रतिबद्ध रहेको जनाउँदै, सीमा अपराध, घुसपैठ र अतिक्रमण नियन्त्रणका लागि सीमाक्षेत्रमा समकक्षी र सम्बन्धित निकायहरूसँग निरन्तर समन्वयमा रहेर कार्यरत रहेको जनाएको छ।










