काठमाडौँ । सरकारले चाडपर्वको समयमा यात्रुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न तथा गुनासोको तत्काल समाधान गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार, आज बसेको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।
समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख र यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्षलगायत सरोकारवाला सहभागी हुनेछन्।
बैठकले चाडपर्वका दिन उपत्यकाबाट बाहिर जाने सवारीसाधनको प्राविधिक जाँच गर्ने, आवश्यक परे यात्रु सहायता कक्ष निर्माण गर्ने निर्णय पनि गरेको छ। साथै, यात्रुहरू गन्तव्यसम्म सहजै पुग्ने व्यवस्था गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गर्ने निर्णय गरिएको छ।
अन्तरिम रूपमा, आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक सवारीसाधन र कार्यालयको उचित क्षतिपूर्ति प्रक्रिया अघि बढाउने र ट्राफिक प्रहरीका लागि आवश्यक सामग्री उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ। लुटपाट भएका हतियार र सामग्री सवारीसाधनबाट ओसारपसार नहोस् भनी तत्काल सूचना जारी गर्ने निर्णय पनि भएको छ।










