नयाँ स्वरूपमा ऐतिहासिक गौरव पुनःस्थापित गर्दै सिंहदरबार

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले ऐतिहासिक सिंहदरबार खण्डहर बनेको छ। भित्ताभर धुवाँको कालोपन, ध्वस्त संरचना र खरानीमाथि फहराइरहेको चन्द्र–सूर्य अङ्कित राष्ट्रिय झण्डाले अझै पनि आशा र विश्वास बोकेको देखिन्छ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक केशव बस्यालले आँसु रोक्दै भन्नुभयो, “इतिहास जल्दा पीडा भयो, तर निराश छैन। सिंहदरबार फेरि उठ्नेछ भन्नेमा म विश्वस्त छु।”

भित्तामा जलेका कलात्मक संरचना, धुवाँले लतपतिएका शिल्पी र कलाकौशल आज पुनर्निर्माणको प्रतीक्षामा छन्। कानुन व्यवसायी देवमाया घिमिरेले जलेको दृश्य क्यामेरामा कैद गर्दा “मन नै जल्यो, हृदय भारी भयो” भन्दै शब्दहीन पीडा व्यक्त गर्नुभयो। अर्की व्यवसायी सुमित्रा श्रेष्ठले यस्ता सार्वजनिक सम्पत्तिलाई आगोले ग्रस्नु नहुने बताइन्।

आइतबार सिंहदरबारभित्र कार्यालय खुलेपछि चहलपहल बढ्यो। कर्मचारी, नागरिक र पर्यटक सबैले आँखा रसाउँदै जलेको दरबार नियाले। कतिले मोबाइलमा दृश्य खिचे, तर मौन पीडा झल्काइरहे।

प्राध्यापक बस्यालले भने, “यो वैभवशाली विकासको प्रमाण थियो। आक्रमणले सम्पदामाथि प्रहार गर्छ। ठूला खर्च लागे पनि पुनर्निर्माण सम्भव छ। आशा छ, सिंहदरबार फेरि उठ्नेछ।”

गोरखा भूकम्पपछि पुनःनिर्माण गरिएको सिंहदरबार फेरि आकर्षक बनेको थियो। तर हालैको आगजनीले पुनः खण्डहर बनायो। सङ्घीय संसद् सचिवालयका कर्मचारी केशव अधिकारीले “नेपाल आफैं ठूला पूर्वाधार बनाउन थालेको आशा जगाउँदै थियो, तर यो दृश्यले फेरि पीडित बनायो” भन्नुभयो।

कर्णाली प्रदेशका कर्मचारी नवराज रिजाल, पशुपति क्षेत्र विकास कोषका रामकृष्ण लामिछाने र सिंहदरबारमै कार्यरत सुरक्षा जवान एन्जल सुवेदी सबै भावुक बने। उनीहरूको स्वरमा एउटै कुरा प्रतिध्वनित थियो—यो ऐतिहासिक धरोहर आफ्नै स्वरूपमा फेरि बन्नुपर्छ।

सिंहदरबार राणाकालमा चन्द्र शमशेरले इ.स. 1903 मा बनाएका थिए। १७ सय कोठा भएको यो दरबार त्यतिबेला एसियाकै ठूलो मानिन्थ्यो। विसं २०३० मा आगलागी हुँदा पनि यसको ठूलो भाग जलेको थियो। आज फेरि त्यस्तै विपत्तिको सामना गर्नुपरेको छ।

तर, इतिहासले प्रमाणित गरेको छ—सिंहदरबार ढले पनि, उठ्छ। यो केवल इमारत होइन, नेपालको राजनीतिक, प्रशासनिक र ऐतिहासिक जीवन्त दस्तावेज हो। आज यो पीडामाथि आशाको झण्डा फहराइरहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ