हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिकामा टेलिफोन र इन्टरनेट समस्याबाट दीर्घकालसम्म वञ्चित रहेका बस्तीहरूमा अब नेपाल टेलिकमको चौथो पुस्ता (फोरजी) सेवा सञ्चालनमा आएको छ। नयाँ सेवाले शिक्षा, स्वास्थ्य, सञ्चार र व्यवसायमा ठूलो सहयोग पुगेको स्थानीयवासीले बताएका छन्।
मेल्छाम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी हर्क बुढाका अनुसार फोरजी आएपछि काम गर्न सहज भएको छ। व्यवसायी दीपक थापाले पनि इन्टरनेटले कारोबार बढाउन मद्दत पुगेको बताए।
नेपाल टेलिकमले विसं २०७३ पुस १७ गते काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको थियो। अहिले भने यो सुविधा हुम्लाको ताँजाकोट, अदानचुली, सर्केगाड, चङ्खेलीका धेरै बस्ती, मुगुको सोरु गाउँपालिका, बाजुरा र वरपरका गाउँसम्म विस्तार भएको छ।
चङ्खेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले विकट भौगोलिक क्षेत्रसम्म आधुनिक प्रविधिको पहुँच पुर्याउन निरन्तर पहल गरेको बताउँदै फोरजी विस्तारले शिक्षा, स्वास्थ्य, रोजगारी, सञ्चार र सामाजिक सेवामा नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।
लामाकाँध र मासीधारमा राखिएका टावर सञ्चालनमा आएसँगै जिल्लाको तल्लो क्षेत्रका अधिकांश बस्तीमा फोरजी चल्न थालेको छ। महतारा चौरमा निर्माणधीन अर्को टावर सञ्चालन भएपछि बाँकी बस्तीमा पनि इन्टरनेट उपलब्ध हुने बताइएको छ।
स्वास्थ्य संयोजक सुरवीर शाहीका अनुसार यसअघि इन्टरनेट नहुँदा स्वास्थ्यसम्बन्धी तथ्यांक संकलन र कार्यालयीन काम गर्न कठिनाइ थियो। अब भने डिजिटल प्रणाली सहज हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाले दुई वर्षदेखि नेपाल टेलिकमसँग निरन्तर समन्वय र पहल गर्दै आएको थियो। अन्ततः टावर निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि विद्यालयहरूले डिजिटल शिक्षा, अनलाइन कक्षा र स्वास्थ्य सेवामा इन्टरनेटको प्रयोग सुरु गर्ने तयारी गरेका छन्।










