काभ्रे । विपी राजमार्ग २०८२ असार ७ गतेदेखि रातीको समयमा मनसुनको कारण जोखिम भन्दै रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाउँदै आएकोमा भोलि असोज १ गतेदेखि २४सैँ घण्टा सञ्चालनमा आउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोककोे सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रम र दशै–तिहार लगायतकाका चाडपर्वका लागि यात्रुहरुको सहजताका लागि सडक सुरक्षा कार्ययोजना बमोजिम असोज १ गतेदेखि २४सैँ घण्टा खुल्ला गर्ने निर्णय गरिएको हो । मंगलवार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वार जारी सार्वजनिक सूचना अनुसार २४सैँ घण्टा खुल्ला गर्ने निर्णय गरिएको हो ।

गत असार ०७गते देखि रातीको समयमा सम्पूर्ण सवारी साधन आवतजावतमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको थियो । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेलदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म रातीको समयमा १२ घण्टासम्म यातायातका साधन सञ्चालनमा रोक लगाएको थियो । गत असार ७ गतेदेखि राती सवारी सञ्चालनमा रोक लगाउँदै आएकोमा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले मनसुनको समयमा विपी राजमार्गमा उच्च जोखिमका कारण रातको समयमा नीजि तथा सार्वजनिक सवारी साधान सञ्चालनमा रोक लगाइएकोमा आउँदो असोज १ गतेदेखि पूर्णरुपमा राजमार्ग खोल्ने निर्णइ भएको बताए । श्रेष्ठका अनुसार काभ्रेपलाञ्चोकको काभ्रेभन्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यसअघि यातायात सञ्चालनमा रोक लगाइएको हो । काठमाडौबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिएको थियो ।
यसअघि काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि विपी राजमार्गमा साँझ ६ः३० बजेदेखि विहान ५ बजेसम्म करिब दश घण्टा १५ दिन तथा थप असार मसान्तसम्म र साउन महिनाभर साँझ ५ देखि बिहान ५ बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो ।
गत साल असोजको बाढीपहिरोले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्षेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडकनै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ । बाढीपहिरोले राजमार्गको कुल एक सय ६० किलो मिटरमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौँथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको थियो ।
कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामासमेत अघि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दुरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छ ।










