काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पन्न परिस्थितिले ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुर्याएको छ । यसबाट हालसम्म करिब २० अर्ब ७० करोड ३८ लाख बराबरको बीमा दाबी दर्ता भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हालसम्म विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा जम्मा एक हजार ९८४ वटा बीमा दावी परेका छन् ।
सबैभन्दा बढी दाबी दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा दर्ता भएको छ, जसमा मात्रै ४० वटा दावी परेर करिब पाँच अर्ब १४ करोड ७९ लाख बराबरको रकम पुगेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा २५८ वटा दाबी परेका छन् र त्यसको मूल्य करिब चार अर्ब ९३ करोड पुगेको छ । शिखर इन्स्योरेन्स कम्पनीमा ३६६ वटा दाबी दर्ता भई दुई अर्ब ३९ करोड नाघेको छ भने आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दावी दर्ता भई एक अर्ब ५९ करोड बराबर पुगेको प्राधिकरणले जनाएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा २३३ वटा दावी दर्ता भई करिब एक अर्ब ४७ करोड पुगेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा १९६ वटा दावी परेर एक अर्ब १५ करोड भन्दा बढी रकम पुगेको छ भने नेको इन्स्योरेन्समा ४० वटा दावी दर्ता भई करिब एक अर्ब नौ करोड बराबर पुगेको छ । सानिमा जिआइसीमा १२९ वटा दावी दर्ता भई करिब ७८ करोड बराबर पुगेको छ । यस्तै, राष्ट्रिय बीमा कम्पनीमा १७२ वटा दावी दर्ता भई करिब ४९ करोड बराबर पुगेको छ भने युनाइटेड अजोड इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्सलगायतका कम्पनीहरूमा समेत दशौं करोडसम्मका दावी दर्ता भएका छन् । विभिन्न माइक्रो इन्स्योरेन्स कम्पनीहरूमा समेत लाखौंको क्षतिपूर्ति दाबी परेको विवरण प्राधिकरणले सार्वजनिक गरेको छ ।
नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रियालाई शीघ्र निष्कर्षमा पु¥याउने प्रतिबद्धता जनाएको छ । सङ्घले बीमित सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र मूल्याङ्कन गरेर आवश्यक कागजातसहित दावी दर्ता गर्न बीमितलाई आग्रह गरेको छ । यसैगरी, बीमा कम्पनीहरूले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै बीमितलाई राहत दिलाउने उद्देश्यले प्रक्रियालाई तीव्र गतिमा अघि बढाइरहेको सङ्घको भनाइ छ ।
सङ्घले आन्दोलनका क्रममा ज्यान गुमाएका प्रती हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै राष्ट्रपतिको भवन, संसद् भवन, सुरक्षानिकाय, प्रशासकीय संरचना, निजी सम्पत्ति, उद्योग, व्यापार र यातायातलगायतमा पुगेको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । सङ्घका अध्यक्ष राजेन्द्र मल्लले बीमितले आफ्नो क्षतिको विवरण र कागजात चाँडै बुझाउनुपर्ने र कम्पनीहरूले दावी प्रक्रिया छिटो टुङ्गोमा पु¥याउने उद्देश्यका साथ काम गरिरहेको स्पष्ट पारेका छन् ।
विसं २०७२ को भूकम्प र कोभिड महामारीका अनुभवले बीमाको आवश्यकता अझै स्पष्ट पारेको सन्दर्भमा हालको संकटबीच बीमा कम्पनीहरूको सक्रियता सकारात्मक र आशाजनक रहेको प्राधिकरणले जनाएको छ ।










