चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा पटक–पटक पहिरो खस्दा स्थलमार्ग जोखिमपूर्ण बनेपछि हवाई यात्रातर्फ यात्रुको आकर्षण बढेको छ। चाडपर्व नजिकिँदै गर्दा यात्रुको चाप सामान्य अवस्थाभन्दा निकै बढेको भरतपुर विमानस्थलले जनाएको छ।
भरतपुर विमानस्थलमा दैनिक सात उडान हुँदै आएकोमा अहिले १० उडान गर्नुपर्ने अवस्था आएको छ। काठमाडौँ–भरतपुर र भरतपुर–पोखरा रुटमा सेवा दिँदै आएको बुद्ध एयरले यात्रुको बढ्दो चापका कारण थप विमानसमेत परिचालन गरेको हो।
बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक ३०० देखि ३५० यात्रु मात्र हुने गरे पनि हाल यो संख्या ४६० नजिक पुगेको छ। उनले काठमाडौँ आउने र त्यहाँबाट जाने दुवै यात्रुको संख्या एकैसाथ बढेको बताए।
हाल बिहान ८ बजेदेखि अपराह्न ३ः३५ बजेसम्म १० उडान सञ्चालन भइरहेको छ। यद्यपि, एयर ट्राफिक र रात्रिकालीन उडानको सुविधा नभएकाले थप उडान गर्न नसकिएको बस्नेतले जानकारी दिए। टिकट माग उच्च भए पनि सहजै उपलब्ध हुन नसकेको उनले बताए।
विमानस्थल प्रमुख दीपक विकेका अनुसार चितवनसँगै मकवानपुर र नवलपरासीका यात्रु पनि भरतपुर विमानस्थल हुँदै आवतजावत गर्ने भएकाले यात्रुको चाप बढेको हो। उनले पहिरो र चाडपर्व दुबै कारणले यात्रामा चाप देखिएको उल्लेख गरे।










