यात्रुको चाप अत्यधिक, काठमाडौंबाट बाहिरिने टिकट पाउन गाह्रो

काठमाडौँ । दशैं नजिकिँदै गर्दा काठमाडौँबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको छ। गोंगबु, कोटेश्वर, कलंकी र बल्खु जस्ता नाकामा आफ्ना गाउँ फर्कने मानिसको भीड देखिएको हो।

तर, धेरै यात्रुहरू टिकट नपाएको गुनासो गर्दै निराश भएका छन्। पूर्व, पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम जान चाहनेहरूले बुकिङ काउन्टरमा पुगे पनि सबै सिट भरिएको जवाफ पाएका छन्। कतिपय यात्रुले बस खाली देखिँदासमेत टिकट छैन भन्ने जवाफ पाएको र दलालमार्फत दोब्बर भाडा तिर्नुपरेको दाबी गरेका छन्। अनलाइन प्रणालीमा समस्या र बुकिङ प्रक्रियामा पारदर्शिता नहुँदा यात्रु थप असन्तुष्ट बनेका छन्।

यातायात व्यवसायीहरूले टिकट पाउन कठिनाई हुनुमा यात्रुको अत्यधिक चापका साथै विभिन्न राजमार्गमा पहिरोका कारण गाडी ढिला फर्कनु पनि मुख्य कारण भएको बताएका छन्। असोज १३ गतेसम्मका लागि सबै टिकट बुक भइसकेको जानकारी दिइएको छ।

प्रहरी तथ्याङ्कअनुसार हालसम्म करिब डेढ लाख मानिस उपत्यकाबाट बाहिरिइसकेका छन्। समयमै टिकट काट्न सफल भएकाहरू भने सजिलै गाउँ फर्केका छन्। मानिसहरू घर फर्कन थालेसँगै उपत्यका बिस्तारै सुनसान बन्दै गएको छ भने, सधैं भीड हुने सडक र सार्वजनिक स्थलहरूमा पनि चहलपहल घटेको देखिन्छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ