प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न कारागार र सुधारगृहबाट भागेका मध्ये झण्डै पाँच हजार सात सय कैदी अझै फरार रहेका छन्। जेनजी प्रदर्शन तीव्र बनेपछि देशका २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी कुल १४ हजार ५५३ बन्दी फरार भएका थिए। तीमध्ये आज अपराह्नसम्म ८ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कुल ८ हजार ८५१ बन्दी पुनः कारागार फर्केका छन्।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार हालसम्म ५ हजार ७९ कैदी र ६१८ बालबन्दी, अर्थात् ५ हजार ६९७ बन्दी अझै फरार छन्। गृह मन्त्रालयले असोज १० गतेसम्म फरार कैदीबन्दीलाई स्वेच्छाले कारागार फर्कन ‘अन्तिम समयसीमा (अल्टिमेटम)’ दिएको थियो। तर ठूलो संख्यामा विभिन्न अपराधमा सजाय भोगिरहेका कैदी नफर्केपछि सरकारले विशेष खोजी अभियान सञ्चालन गरेको छ।

उक्त अभियान अन्तर्गत सुरक्षाकर्मीहरूले फरार बन्दीहरूलाई नियन्त्रणमा लिएर सम्बन्धित कारागारमा बुझाउने कार्य अघि बढाइरहेका छन्। साथै, मन्त्रालयले फरार बन्दीहरूको खोजी, नियन्त्रण र पक्राउका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी रहने कार्यदल गठन गरेको छ।

प्रदर्शनको मौका पारेर झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नख्खु, जगन्नाथदेवल, डिल्लीबजार, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौवस्ता, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका कारागारहरूबाट कैदीबन्दी भागेका थिए।

यस्तै, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटी बालसुधारगृहबाट ९६३ बालबन्दी फरार भएका थिए। सुरक्षा घेरा तोड्ने क्रममा रामेछापमा तीन र धादिङमा दुई कैदीको गोली लागी मृत्यु भएको थियो भने नौवस्ता बालसुधारगृहमा भएको झडपमा पाँच बालबन्दीको ज्यान गएको थियो।

कारागार कार्यालयहरूले फरार कैदीबन्दीलाई तत्काल फर्किन सूचित गरिरहेका छन्। सरकारको निर्देशन पालना नगरी फरार रहनेहरूमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने कारागार व्यवस्थापन विभागले जनाएको छ। हाल देशका ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा विभिन्न कसुरमा सजाय भोगिरहेका ३० हजार ६४६ कैदीबन्दी रहेका छन्। धनुषा, बारा, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र पूर्वी रुकुममा भने कारागार छैन।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ