काठमाडौं । जेनजी आन्दोलनपछि बढेको सुरक्षा चुनौती र चाडपर्वको चहलपहललाई मध्यनजर गर्दै सङ्खुवासभामा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले जिल्लाका मुख्य बजार क्षेत्रहरूमा पैदल र मोबाइल गस्ती एकसाथ सञ्चालन गर्दै आएका छन्। खाँदबारी, तुम्लिङटार, चैनपुर लगायतका बजार क्षेत्रमा विगत केही दिनयता संयुक्त टोलीको सक्रिय उपस्थिति देखिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार पछिल्ला राजनीतिक गतिविधि, आन्दोलन र भिडभाडका कारण सुरक्षा चुनौती बढेपछि सुरक्षा निकायहरूले सहकार्यमा निगरानी बढाएका हुन्।
उहाँले भने, “जिल्लामा शान्ति र सुरक्षाको अवस्था सुदृढ गर्न सबै सुरक्षा निकाय एकताबद्ध भएर काम गरिरहेका छौँ। मुख्य सडक, भिडभाड हुने स्थान, बसपार्क, बजार, बैंक तथा सरकारी कार्यालय वरपर निगरानी बढाइएको छ। यस प्रकारको संयुक्त गस्तीले आपराधिक गतिविधि, चोरी, डकैती, झैझगडा र अवाञ्छित समूहको गतिविधि रोक्न सहयोग पुग्ने विश्वास छ।”
स्थानीयवासीहरूले संयुक्त सुरक्षा बलको उपस्थिति देखेपछि बजार क्षेत्रमा बढी सुरक्षित महसुस भएको प्रतिक्रिया दिएका छन्। खाँदबारीका व्यवसायी हिमाल श्रेष्ठका अनुसार सेना र प्रहरीसँगै गस्ती हुँदा वातावरण थप सुरक्षित महसुस हुन्छ र यस्तो पहल निरन्तर हुनुपर्छ। सुरक्षा स्रोतका अनुसार चाडपर्वमा भिडभाड बढ्ने सम्भावना रहेकाले गस्तीलाई राति पनि निरन्तर सञ्चालन गर्ने तयारी भइरहेको छ।










