हिमपात र वर्षाले म्याग्दी–मुस्ताङका पदयात्री र पर्यटक फसे, पदयात्रा स्थगित

काठमाडौं । म्याग्दी र मुस्ताङका हिमाली क्षेत्रमा गए रातिदेखि परेको हल्का वर्षा र हिमपातका कारण त्यहाँ भ्रमणमा रहेका देशी–विदेशी पर्यटक समस्या परेका छन्। मौसम प्रतिकूल भएपछि धेरै पर्यटक बास बसेकै स्थानमा रोकिएका छन्।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङका अनुसार हिमपातका कारण सडक र पदमार्गमा हिउँ जमेकाले यातायात र पैदलयात्रा दुवै अवरुद्ध भएका छन्। उनले भने, “जोखिम हुने भएकाले पर्यटकलाई बाहिर ननिस्कन आग्रह गरिएको छ।”

मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण र सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले आजदेखि वर्षा र हिमपातको सम्भावना रहेकाले पदयात्रा नगर्न सोमबार सार्वजनिक सूचना जारी गरेका थिए। त्यसकै कारण पर्यटकको आवागमन पनि घटेको जनाइएको छ।

मुक्तिनाथ, लोमान्थाङ, चराङलगायत माथिल्लो क्षेत्रमा हल्का वर्षा र हिमपात भएको छ भने म्याग्दीको अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड ताल, घोडेपानी, खोप्रालेक, मोहरेडाँडा र कोखेडाँडा क्षेत्रका पर्यटक पनि प्रभावित भएका छन्।

अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा आज बिहानदेखि आवतजावत ठप्प भएको हुमखोलाका होटल व्यवसायी तेज गुरुङले बताए। उनका अनुसार, “अघिपछि दैनिक पाँच सयजना पर्यटक आउने ठाउँमा सोमबार करिब दुई सयजना मात्रै आएका थिए, ती पनि वर्षा र हिमपातका कारण पदयात्रा रोकिरहेका छन्।”

अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर पुनले राति १२ बजेसम्म प्रयास गरेर अन्नपूर्ण आधार शिविर पुगेका पर्यटकलाई नारच्याङ र भुरुङ तातोपानीतर्फ झारिएको जानकारी दिए।

घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनका अनुसार मौसम बिग्रिएपछि पर्यटकले पदयात्रा स्थगित गरेर होटलमै बस्न थालेका छन्। उनले भने, “चिसो र हिमपातका कारण स्वास्थ्यमा समस्या आउन सक्ने तथा बाटो ढाकिँदा दुर्घटनाको जोखिम हुने भएकाले पर्यटकलाई पदयात्रा नगर्न आग्रह गरेका छौँ।”

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ